कारोबार


पर्यटन क्षेत्रको वृद्धिदर उच्च हुँदा निर्माण क्षेत्र ऋणात्मक हुने प्रक्षेपण

पर्यटन क्षेत्रको वृद्धिदर उच्च हुँदा निर्माण क्षेत्र ऋणात्मक हुने प्रक्षेपण

वसन्त अर्याल
बैशाख १८, २०८१ मंगलबार १९:६, काठमाडौँ

चालू आर्थिक वर्षमा उद्योग र निर्माण क्षेत्रको वृद्धिदर नकारात्मक हुने भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापमा आएको सुस्तताले २ वटा क्षेत्र ऋणात्मक हुने अनुमान गरेको हो। 

चालू आर्थिक वर्षको आधारभूत मूल्यमा ३.५४ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ। मुख्य औद्योगिक वर्गीकरणअनुसार १८ किसिमका राष्ट्रिय लेखा अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। 

प्रक्षेपणअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५७ खर्ब ४ अर्ब हुने अनुमान गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको ५३ खर्ब ४८ अर्बभन्दा धेरै हो। त्यसअघि आव २०७८/०७९ मा जीडीपी ४९ खर्ब ७६ अर्ब रहने प्रक्षेपण थियो। 

कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान गर्ने औद्योगिक र निर्माण क्षेत्र यस वर्ष ऋणात्मक हुने देखिएको छ। तथ्यांक कार्यालयका अनुसार उद्योग तर्फको १.६ प्रतिशत र निर्माण क्षेत्रमा २.०७ ऋणात्मक हुनेछ। 

नेपालमा पर्यटन क्षेत्रको आगमन वृद्धि भएसँगै सेवा क्षेत्रको वृद्धिदर उच्च रहेको छ। पर्यटन क्षेत्र २१ प्रतिशतले बढ्दा जलविद्युतका नयाँ आयोजना आएसँगै १७ प्रतिशतले बढ्ने अनुमान छ। 

कृषि, तथा वनको वृद्धिदर ३.०५ प्रतिशत 
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वार्षिक वृद्धिदर ३.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। धानलगायतका वर्षे बालीको उत्पादनमा भएको वृद्धि, दलहन, तरकारी तथा नगदेबालीमा भएको वृद्धि तथा पशुपक्षीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु)मा भएको वृद्धिले यस क्षेत्रको मूल्यअभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत कायम गरिएको छ।

खानी तथा उत्खनन २.३१ प्रतिशत 
खानी तथा उत्खनन क्षेत्रको चालू आर्थिक वर्षको कुल मूल्यअभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण क्षेत्रमा सामान्य गिरावट भए पनि खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ०.९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ८.८४ प्रतिशत कायम गरिएको छ।

(स्रोत : राष्ट्रिय तथ्यांक कार्यालय)

उद्योग क्षेत्र ऋणात्मक 
चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ऋणात्मक  १.६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो। 

साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक १.९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्ग अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम गरिएको छ।

जलविद्युतका उत्पादनले १७.४४ वृद्धिदर
यस क्षेत्रको चालू आर्थिक वर्षको कुल मूल्यअभिवृद्धि वृद्धिदर १७.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। केही विद्युत् परियोजनाको उत्पादन थप भएसँगै चालू आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १९.८९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५२.६८ प्रतिशत कायम गरिएको छ।

पानी आपूर्ति, ढल, फोहोर क्षेत्रमा २.८ प्रतिशत 
चालू आर्थिक वर्षको कुल मूल्यअभिवृद्धि वृद्धिदर २.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। पानीको मागमा भएको कमिक वृद्धिसँगै पानी आपूर्ति गर्ने संस्थाहरूको उत्पादनमा भएको वृद्धि र सो सँगसँगै अन्य क्रियाकलापको उत्पादन समेत बढेका कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०८ प्रतिशत कायम गरिएको छ।

(स्रोत : राष्ट्रिय तथ्यांक कार्यालय)

निर्माण गतिविधि सुस्त 
यस क्षेत्रको चालू आर्थिक वर्षको कुल मूल्यअभिवृद्धि वृद्धिदर ऋणात्मक २.०७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालू आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक १.१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत रहेको थियो। 

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवामा झिनो वृद्धि
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

चालू आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्यअभिवृद्धि नगन्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक ३.०२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.४२ प्रतिशत रहेको छ। 

यातायात तथा भण्डारण
यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धिजस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धि सुधार हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.६० प्रतिशत कायम गरिएको छ।

आवास तथा भोजन सेवा सबैभन्दा बढी 
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धिजस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्यअभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १२.५६ प्रतिशत कायम गरिएको छ।

सूचना तथा सञ्चारको ४.९१ प्रतिशत 
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्यअभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत रहेको थियो।

वित्तीय तथा बीमा क्षेत्र 
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९१ प्रतिशत कायम गरिएको छ।

घरजग्गा कारोबारको सेवा २.९८ प्रतिशत 
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ। 

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ।

पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ४.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्यअभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक छ। 

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.५० प्रतिशत रहेको छ। 

प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ४.०४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत कायम गरिएको छ।

सार्वजनिक प्रशासन तथा रक्षा
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर ४.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। तीनवटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षाअन्तर्गत गरेको मध्यवर्ती खर्चमा देखिएको कमीले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्ने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ५.७५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.०८ प्रतिशत गरिएको छ। 

शिक्षामा २.७१ प्रतिशतले सकरात्मक
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर २.७१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा निजी शैक्षिक संस्थाका विद्यार्थी संख्यामा कमी आएको भए पनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीको संख्यामा भएको बढोत्तरीसँगै शिक्षा क्षेत्रमा सरकारी क्षेत्रको खर्च बढेका कारण यस क्षेत्रको मूल्यअभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.६६ प्रतिशत रहेको छ। 

स्वास्थ्य तथा सामाजिक कार्य
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.५२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको संख्यामा भएको बढोत्तरीका कारण यस क्षेत्रको मूल्यअभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९९ प्रतिशत कायम गरिएको छ।

अन्य सेवाका क्रियाकलाप
चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.१७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

केन्द्रीय तथा स्थानीय सरकारले सामुदायिक, सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रवाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि हुने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .